About US
तेेह्रथुम जिल्लाकाे परिचयः
तेह्रथुम जिल्लाको ऐतिहासिक पृष्ठभूमि तेह्रथुम जिल्ला नेपाल अधिराज्यको साविक पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा अवस्थित हाल १ नं. प्रदेश अन्तर्गत पर्ने एउटा पहाडी जिल्ला हो । पूर्वि पहाडको एक दुर्गम जिल्लाको रुपमा रहेको यो जिल्ला नेपालको मानचित्रमा हेर्दा २६०१३’ देखि २६०५८’ उत्तरी अक्षांश र ८७०२७’ देखि ८७०४५’ पूर्वी देशान्तर सम्म झण्डै त्रिकोणात्मक आकारमा रहेको छ । तेह्रथुम जिल्लाको कूल क्षेत्रफल ६७७.२१ वर्ग किलो मीटर रहेको छ । यस जिल्लाको पूर्वमा पाँचथर र ताप्लेजुङ्ग, पश्चिममा धनकुटा, उत्तरमा ताप्लेजुङ्ग र संखुवासभा तथा दक्षिणमा धनकुटा र पाँचथर जिल्लाको सिमानाहरु पर्दछन् । समुद्र सतहबाट ३४५ मीटर देखि ३,९६३ मीटरको उचाईसम्म फैलिएको यो जिल्ला साविक पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धनकुटाबाट करीब ६१ कि.मी. पूर्वमा रहेको छ ।श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरी सकेपछि जग्गाको तिरोभरो उठाउने व्यवस्थासंग सम्बन्धित रहेको पाईन्छ । पृथ्वी नारायाण शाहको विजय अभियानमा पूर्व क्षेत्रको एकिकरणको लागि अभिमान सिंह बस्नेतको नेतृत्वमा आएको गोर्खाली सेनाले खुम्बुवान क्षेत्रमा विजय गरी सकेपछि वि.सं. १८३१ मा गोर्खाली सैन्यका रामकृष्ण कुँबरलाई लिम्बुहरुले चैनपुरमा बोलाई मेलमिलाप गरी आफुहरु नेपाल सरकारको आश्रयमा बस्न स्वीकार गरेका थिए । यसरी लिम्बुवान क्षेत्र नेपाल अधिराज्यमा समावेश भई सकेपछि गोर्खालीले लिम्बुहरुको रितिथिति तथा अन्य सामाजिक व्यवस्थामा खलल नगर्ने वचन दिएका थिए । लिम्बुवानमा प्रचलित थिति अनुसार किपटको अमालप्रथा यथावत थामियो । किपटको राजीनामा नहुने भयो । यहाँका सुब्बाहरुलाई पञ्चखत वाहेक अन्य मुद्दा मामिलाहरु हेर्ने र “ठिग्रे मुग्रे”गरी दण्ड जरिवाना समेत गर्न पाउने अधिकार हुने गरी पृथ्वी नारायण शाहबाट लालमोहर बक्स भएको थियो ।नेपाली भाषामा थुम भन्नाले डाँडो ढिस्को वा थुम्को भन्ने बुझिन्छ र यस जिल्लामा १३ वटा थुम रहेको हुनाले यो जिल्लाको नाम १३ थुम रहन गएको हो । बि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लाहरुमा विभाजन गरिंदा तेह्रथुम माल अन्तरगत पर्ने क्षेत्रलाई ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा र तेह्रथुम गरी चारवटा जिल्लामा छुट्याइयो । १३ वटा थुमहरु मध्ये यस जिल्लामा आठराई, फेदाप, माईखोला र साविक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भागमात्रको क्षेत्रफल कायम रहे पनि साविक तिरो उठाउने माल अड्डा यसै जिल्लाको क्षेत्रमा परेको हुँदा यो जिल्लाको नाम पनि तेह्रथुम रहन गएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टी हुन्छ । बि.सं. २०१८ साल पछि यस जिल्लामा कायम भएका ४२ गाउँ पञ्चायतहरु मध्येबाट तांखुवा र परेवादिन दुइ गाउँ पञ्चायतहरु धनकुटा जिल्लामा गाभिन गएको छ भने निगुरादिन, फुल्बारी हाङ्गपाङ्ग, चांगे गरी ४ वटा गाउँ पञ्चायतहरु (आठराई थुम अन्तरगत क्षेत्रबाट) र ढुंगेसाँघु, साँघु, फाकुम्वा, थिंलावु ४ वटा गाउँ पञ्चायतहरु (माईखोला थुम क्षेत्रबाट) ताप्लेजुङ्ग जिल्लामा गाभिन गएको छ । यसरी हालको तेह्रथुम जिल्लामा आठराई, फेदाप र छथर थुम क्षेत्र अन्तरगत पर्ने बाँकी क्षेत्रहरुमात्र रहेको छ । तत्कालिन १३ वटा थुमहरुको प्रशासकीय केन्द्रको रुपमा रहेको तेह्रथुम जिल्लालाई हाल २प्रदेशसभा निर्वाचन क्षेत्र, ४ गाउँपालिका र २ नगरपालीकामा विभाजित गरिएको छ ।१.१. तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ्गको नामाकरणधेरै समय अगाडि तेह्रथुमका लिम्बूहरू ढाकर बोकेर नुन लिन धरान आएका थिए । त्यसबेला धरानबाट नुन लिएर र्फकंदा भेडेटार, मलघाट, धारापानी, धनकुटा, हिले, सिँजुवा हुँदै तेह्रथुमको ओख्रे प्रवेश गर्दथे । यही बाटो हुँदै पिँगुवा खोला तरेर उकालो लागेपछि डाँडाका टुप्पामा पुगेपछि रात परेछ र ती ढाक्रेहरू त्यहीँ बस्ने निधो गरेछन् । सबैले आ-आफ्नो ढाकर तोक्मामा अड्याई खकन र नाम्ल्ाो फुकालेर चौतारामा बिसाएछन् । त्यस चौताराका वरिपरि घारी नै घारी भएकाले केही ढाक्रे तोक्माले तितेघारी फाँड्दै चम्का बनाउन ढुङ्गा खोज्न थालेछन् । केहीले झिँजा दाउरा खोजेर ल्याए । अनि एउटाले सुरुवालको नेफाबाट झुलो झिकी चक्मक दर्शन ढुङ्गामा रगड्न थालेछ । झुलो चकमकबाट आगो निकालेर दाउरा बालेपछि चम्कामा खाना बसालेछन् । ती तीनवटा चम्कामध्ये एउटा चम्काको जति जति आगो दन्किँदै गयो त्यति त्यति हल्लिन थालेछ । त्यो देखेर अचम्म मान्दै सबैजना त्यो चम्कालाई हेर्न थालेछन् । भात छड्किन लाग्दा त त्यो चम्को पर्लक्क पल्टेछ र भात सबै घोप्टिएछ । दिनभरिको थकान र भोकले आतुर भएको झोँकमा एउटा ढाक्रेले दापबाट खुकुरी झिकेर त्यो चम्कालाई छप्काएछ । अचम्म के भएछ भने त्यो चम्काबाट रगतका सिर्का आएछन् अनि त्यो ढुङ्गा म्याङ म्याङ गर्दै गुड्किँदै तलतिर गएछ । यसपछि ढुङ्गा काट्ने ढाक्रे बेहोस भएछ । भोलि पल्ट बिहान सबै जना मिलेर त्यो ढुङ्गालाई खोज्न थालेछन् । रगतका टाटा पहिल्याउँदै जाँदा नागदह धाराका छेउमा उक्त रगताम्य भएको ढुङ्गा फेला परेछ र त्यसपछि पखालेर ल्याएर राति तिनीहरू बसेको ठाउँको वरपिपलका फेदमा देवी स्थापना गरेछन् । अनि पूजाआजा गरेपछि बेहोस भएको ढाक्रे पनि होसमा आएछ र पूजाआजा गरेछ । यही समयदेखि उक्त ठाउँमा पूजाआजा गर्ने परम्परा सुरु भयो र अहिले ती देवीलाई सिंहदेवीका नामले पूजा गर्ने गरिन्छ ।यसरी धरानबाट नुन बोकेर आउँदा बास बसेको ठाउँमा भात पकाउँदै गर्दा चम्को उफ्रेर भात घोप्टिएको र त्यस चम्कालाई ढाक्रेले खुकुरीले हान्दा रगतको सिर्का आएको अनि त्यो ढुङ्गा म्याङ म्याङ गर्दै दौडिएकाले त्यस ठाउँको नाम 'म्याङ्लुङ' भन्न थालियो । लिम्बूभाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुङ्गो हुन्छ । संयुक्त अर्थमा म्याङ्लुङको अर्थ बिराले ढुङ्गा भए पनि पछि यसलाई सिंहदेवीका रूपमा मान्न थालियो । भौगोलिक विभाजन हुँदा सरकारले तेह्रथुम जिल्लाको जिल्ला सदरमुकामको नाम पनि म्याङ्लुङ नै राखेको छ । अहिले पनि उक्त म्याङ्लुङलाई सिंहदेवीका रूपमा पूजाआजा गरिँदै आएको छ । म्याङ्लुङ जस्तै पूर्वका अधिकांश ठाउँका नाम लिम्बूजातिको भाषा संस्कृति र मिथकका आधारमा राखिएको देखिन्छ ।

